काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ । हिजो सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनुभएको हो ।

एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको समेत बताउनुभयो । उहाँले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको समेत बताउनुभयो । अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएको समेत दाबी गर्नुभयो । उहाँले गठबन्धनको सरकारमा सहभागि दलका अघि ओलीको केही नलाग्ने ठोकुवा समेत गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘त्यो जमात अब क्रान्तिकारी रहेन, कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन, माक्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाई दिसकेको छ । पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको एमालेको झण्डा अबका दिनमा बाँदरका हातमा सुम्पिएर बोक्ने अवस्था आउने छ, त्यहाँ रहेकाहरुको हरिबिजोग भएको छ, हामी त्यहाँ रहेको भए के हुन्थ्यो, सबैलाई थाहा छ, सच्चिनेवाला कोही छैन त्यहाँ भनेर ।’ अध्यक्ष नेपालले एमाले भित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादी एक हुने दाबी समेत गर्नुभयो ।