काठमाडौं – नेपाली काङ्ग्रेसको चार दिन पछि काठमाडौंमा हुन लागेको १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडल समूहलाई कार्यकर्ताहरुले दवाब दिएका छन् ।

पार्टीको आगामी नेतृत्वका लागि सभापतिको साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सिंहनिवास क्षेत्रपाटीस्थित चाक्सीबारीमा छलफल भैरहँदा कार्यकर्ताहरुले शीर्ष नेताहरुलाई दवाब दिएका हुन् ।

संस्थापनइतरका नेताहरु छलफलमा जुटिरहेका बखत महाधिवेशन प्रतिनिधिको एक समूहले सभापतिको साझा उम्मेदवार चयन गर्न दबाब दिँदै नेता सिंहको निवासमा प्रदर्शन गरेका थिए ।

महाधिवेशनका प्रतिनिधिहरुले साझा उम्मेदवारको विकल्प छैन, एकतामात्रै जितको आधार हो, नेताहरु मिल्नुस् काङ्ग्रेस जोगाउनुस्, अहिले नमिले कहिले मिल्ने जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेर धर्ना दिएका थिए ।