काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त सदस्यको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सहित कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिकाअनुसार पुस २० गते मङ्गलबारका दिन उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।


उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी पुष २१ गते बुधबार बिहान १० देखि अपराह्न ४ बजेसम्म दिने, २२ गते बिहीबार र २३ गते शुक्रबारका दिन उजुरीमाथि छानविन गर्ने, २४ गते शनिबार उम्मेदवारले नाम फिर्ता लिने र २५ गते आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।


उम्मेदवारको अन्तिम नामाबली प्रकाशित गरेसँगै सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएको मतदाता केन्द्रमा माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगले कार्यतालिका बनाएको छ ।आयोगले निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ बिहीबारदेखि १० गते शनिबारसम्म दल दर्ता गर्ने समय दिइएको छ ।


आयोगकाअनुसार प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरुको उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको व्यवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन पाउने छैन ।