काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । जसका लागि १५ सय प्रतिनिधि हुने भएका छन् । प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्नेछ भने १ हजार ५ सय सङ्गठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने माओवादी केन्द्रले जनाएको छ ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई प्रतिनिधि चयन गर्नुपर्ने । परिपत्रका अनुसार केन्द्रीय दस्यहरू स्वतः सम्मेलनका प्रतिनिधि हुनेछन् । प्रत्येक केन्द्रीय विभागबाट ३÷३ जना प्रतिनिधि छानिँदा केन्द्रीय कार्यालयबाट ५ प्रतिशत प्रतिनिधि मनोनीत हुनेछन् ।

राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क दुई हजार तोकिएको छ । सबै प्रतिनिधिहरुले खाने, बस्नेलगायतका खर्चको व्यवस्थापन आफैं गर्नु पर्नेछ । प्रतिनिधिहरूको सबै व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको मातहतमा हुने बताइएको छ ।