काठमाडौं– नेपाली काङ्ग्रेसले महाधिवेशनमा आउने प्रतिनिधिहरु बस्नका लागि राजधानीको सुन्धारा, ठमेल र गौशालामा होटलहरु बुकिङ गरेको छ । यही मङ्सिर २४ गते शुक्रबारदेखि राजधानीमा सुरु हुने १४ औं महाधिवेशनमा भाग लिन काठमाडौं आउने तीन हजार आठ सय प्रतिनिधिहरुका लागि ८६ वटा होटलमा महाधिवेशन प्रतिनिधिहरुलाई बस्नका लागि होटेल बुकिङ गरेको हो ।


महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन गर्न गठित आवास तथा भोजन समितिका संयोजक एवं काङ्ग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले उक्त कुराको जानकारी गराएका हुन् । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि सहभागी हुने बताइएको छ । संयोजक पाण्डेका अनुसार चार हजार तीन सय महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटेल बुकिङको तयारी भैसकेको छ । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको समेत व्यवस्था गर्ने भएको छ ।

केन्द्रीय सदस्य समेत रहेको संयोजक पाण्डेका अनुसार प्रतिनिधिहरुलाई खानाको निमित्त अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा व्यवस्था गरिएको छ । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिने संयोजक पाण्डेले बताएका छन् ।