प्रकाशमानसिंह, फाइल तस्वीर


काठमाडौं – नेपाल काङ्ग्रेसको महाधिवेशन सुरु हुन अब चार दिनमात्र बाँकी छ । तर उक्त महाधिवेशनबाट पार्टीको आमागी नेतृत्वको विषयमा संस्थापन इतर ठूलै रस्साकस्सी चलिरहेको छ । प्रदेशको निर्वाचन परिणामलाई हेर्ने हो भने पार्टीको आगामी नेतृत्व पनि प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको पोल्टामा पर्ने देखिएको छ । देउवालाई कृष्ण सिटौलाको साथ रहेको छ । यता संस्थापनइतरमा भने सभापतिका आकांक्षीहरुको लिष्ट लामै छ । संस्थापनइतरले जतिसुकै साझा उम्मेदवार तयार गर्ने भनेपनि महाधिवेशनको सङ्घारमा पुग्दा समेत साझा उम्मेदवार तय गर्न सकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र नीति, महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह डा. शेखर कोइराला आफुलार्ई साझा उम्मेदवार बनाउन पर्छ भन्दै आ–आफ्नै अडानमा देखिएका छन् ।

यसैबीच नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने दावी गरेका छन् । काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसमा सोमबार आफ्नो सम्पर्क कार्यालय सञ्चालन गरेका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन् ।

नेता सिंहले ‘म नेचुरल क्यान्डिडेट हुँ । मैले अर्डिनरी वर्करदेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टीको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु। मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रीय उपसभापति र महामन्त्री भइसकेकोले अब टाइम आएको छ’ भनेका छन् । नेता सिंहले ‘मैले प्राप्त गरेको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउँछु । सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ’ भनेका छन् । आजै संस्थापनइतरबाट सभापति पदको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल गर्न इतिर समूहको बैठक बस्दैछ । नेता सिंहले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरैपटक बैठक बसेको र आज पनि छलफल गरेर निर्णयमा पुग्ने बताए ।