फाइल तस्वीर

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित प्रदेश सभापतिहरूलाई बधाई दिनुभएको छ । उहाँले विभिन्न छ प्रदेशका नवनिर्वाचित सभापतिलाई बधाई तथा शुभकामना दिनुभएको हो ।

काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशनबाट प्रदेश कार्यसमितिसहित सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापतिमा ललितजङ्ग शाही, लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा, बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ र प्रदेश नं १ को सभापतिमा उद्धव थापा निर्वाचित हुनुभएको थियो । काङ्गे्रसको प्रदेश नं २ को प्रदेश अधिवेशनको उद्घाटन भए पनि नेतृत्व चयनका लागि निर्वाचन हुन बाँकी छ ।

यसैगरी काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एक विज्ञप्तिमार्फत १४औँ महाधिवेशनअन्तर्गत हालै सम्पन्न प्रदेश अधिवेशनबाट सभापति, पदाधिकारी र सदस्यमा निर्वाचित सबैलाई बधाई दिनुभएको छ । साथै उहाँले काङ्ग्रेसको रुपान्तरणमार्फत राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुनसमेत अनुरोध गर्नुभएको छ ।