काठमाडौं– प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ । सरकारले अघिल्लो महिना भारतका लागि डा. शङ्कर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्तीको प्रस्ताव गरी सुनुवाइका लागि संसदमा पठाएको थियो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोंच र अवधारणा प्रस्तुत गर्नुहुने र त्यसमा संसदीय समितिलाई चित्त बुझेमा उहाँहरुको नाम अनुमोदन हुनेछ । यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समाबेशीताको प्रश्न उठाएर उजुरी गर्नुहुने उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो ।

उहाँहरु तीनै जनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक सङ्ख्या न्यून भएपछि स्थगन भएको थियो । ती मुलुकमा यसअघि रहनुभएका राजदूत नीलाम्बर आचार्य, डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहदैआएको छ ।

समिति सभापति लक्ष्मणलाल कर्णले तीनैजना प्रस्तावित राजदूतको सुनुवाइ आजै सम्पन्न हुने जानकारी दिनुभयो । राजदूतको संसदीय सुनुवाइको सुरुआत बेलायतका लागि प्रस्तावित राजदूत आचार्यबाट भएको छ । रासस