काठमाडौं – पार्टीको दशौं महाधिवेशन सकिए लगतै नेपाल कम्युनिस्ट पार्टी एमालेले स्थायी कमिटी गठन गर्न लागेको छ । महाधिवेशनबाट निर्वाचित १९ जना पदाधिकारी बाहेक २६ जना नेताहरुलाई स्थायी कमिटीमा लैजान लागेको हो । पार्टी भित्रको अन्तरद्वन्द्व र अन्य पार्टीबाट प्रवेश गरेका नेताहरुलाई व्यवस्थापन गर्नका निम्ति एमालेले स्थायी कमिटी गठन गर्ने प्रक्रिया अघि बढाएको हो ।


अध्यक्ष केपी शर्मा ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुङ्गो लगाइसकेको एक नेताले बताए । अघिल्लो स्थायी कमिटीका सदस्य घनश्याम भूसाल, रघुजी पन्त, भीम आचार्य र पूर्वमाओवादी नेता मणि थापा स्वतः स्थायी कमिटी सदस्यमा मनोनित हुने बताइएको छ । पार्टीको दशौं महाधिवेशनबाट यी नेताहरु पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।


यी बाहेक खगराज अधिकारी, भानुभक्त ढकाल, विन्दा पाण्डे, थममाया थापा, यामलाल कँडेल, प्रभु साह, देवराज घिमिरे, गुरु बराल, शेरधन राई र कृष्ण गोपाल श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्नेबारे लगभग सहमति भइसकेको एमालेका एक नेताले बताएका छन् । त्यसैगरी स्थायी कमिटीमा किरण गुरुङ, राजन भट्टराई, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, बैजनाथ चौधरी, कर्ण थापा, अरुण नेपाल, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल घर्ती र गोरख बोगटीको नाम पनि स्थायी कमिटीमा राख्ने सूचीमा समावेश गरिएको छ ।


तत्कालीन उपाध्यक्ष एवम् दशौं महाधिवेशनमा अध्यक्ष पदमा उठेर पराजित भएका भीम रावलले भने केन्द्रीय सदस्यको समेत शपथ नलिएकाले उनी स्थायी कमिटी सदस्यमा मनोनित हुने सम्भावना नभएको बताइएको छ । भीम रावलले अध्यक्षमा पराजित भए पनि एमालेमै रहने प्रतिक्रिया व्यक्त गरेका थिए । तर रावल एमाले पार्टी परित्याग गरी नेकपा(एस)मा जाने चर्चा पनि राजनीति वृत्तमा चल्न थालेको छ ।