जनकपुर– सत्तारुढ दल नेपाली काङ्ग्रेस को अर्को हप्ता हुने महाधिवेशनको सङ्घारमा आइपुग्दा समेत प्रदेश–२ को प्रदेशस्तर अधिवेशन रोकिएको छ । प्रदेश–२ अधिवेशनका निर्वाचन संयोजक रमेश रिजालले परिस्थिति काबुभन्दा बाहिर गएको हुनेले सहमतिमा प्रदेश अधिवेशन स्थगित गरिएको बताउनु भएको छ । सोमबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् प्रदेश २ को निर्वाचन संयोजक रमेश रिजालले उक्त कुराको जानकारी गराउनु भएको हो ।


निर्वाचन संयोजक रिजालले ‘परिस्थिति काबुभन्दा बाहिर गएको हुनाले सहमतिमा प्रदेश अधिवेशन स्थगित गरिएको हो । छिट्टै महाधिवेशनपछि कार्य समितिको निर्वाचन हुन्छ’ भन्नुभएको छ । संयोजक रिजालले केन्द्रीय महाधिवेशनपछि अधिवेशन हुने जानकारी गराएता पनि कुन मितिमा प्रदेश–२ को अधिवेशन गर्ने भन्ने विषयमा उल्लेख गर्न चाहनुभएन । उहाँका अनुसार दुई नम्बर प्रदेश अन्तर्गत रहेका तीन जिल्लाबाट मतदाता नामावली नआएका कारण प्रदेश अधिवेशन स्थगित गर्नु परेको बताउनु भएको छ । सर्लाही, महोत्तर र बाराका एक–एक निर्वाचत क्षेत्रबाट मतदाता नामावली आउन नसकेको भन्दै संयोजक रिजालले बाँकी रहेको जिल्लाको सबै काम दुई/तीन दिनमा टुङ्गिने दाबी गर्नु भएको छ ।


प्रदेश–२ को अधिवेशन मङ्सिर १७ गते उद्घाटन भएको थियो । उद्घाटनको पाँच दिन पछि समितिले आवश्यक तयारी नपुगेको र तीन जिल्लाको मतदाता नामावली प्राप्त हुन नसकेकोले प्रदेश अधिवेशन स्थगित गर्नु परेको संयोजक रिजालको भनाइ छ ।