काठमाडौं – नेपाली काङ्ग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । हिजो आइतबार सम्पन्न निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९ सय २७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो । बागमती प्रदेशमा १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा बानियाँले ९ सय ९२ मत प्राप्त गर्नुभएको थियो भने केसीले ८ सय ७७ मत प्राप्त गर्नुभएको थियो । काङ्ग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ । आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गर्नुभएको थियो ।

यसैगरी नेपाली काङ्ग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा नेता कृष्ण सिटौला निकट एवं शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बन्नु भएका उद्धव थापा निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले ८ सय ४४ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८ सय ४० मत प्राप्त गर्नुभएको थियो । यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी हुनुभएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारी छ ।

यो जितसँगै देउवा पक्ष प्रदेश अधिवेशनमा निक बलियो स्थानमा पुगेको छ । हालसम्म देउवा प्यानलले प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सभापति सहितका पदहरूमा विजय हासिल गरेको छ । रामचन्द्र पौडेल पक्षले भने गण्डकी प्रदेशमा मात्र विजय हासिल गरेको छ ।