काठमाडौं — सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम साता चीनको हुवाइ प्रान्तमा देखिएको कोरोना भाइरसको महामारीले यतिबेला विश्वलाई नै आतङ्कित बनाएको छ । यो महामारीले लाखौं मानिसको ज्यान लिइसकेको छ । अहिले पुनः कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिए पछि थप सन्त्रास बढेको छ । पहिलो र दोस्रो भेरियन्टभन्दा ज्यादै खतरा भनिएको ‘ओमिक्रोन’ विभिन्न देशमा फैलन थालेपछि कोरोना भाइरस विरुद्धको खोपको बारेमा वैज्ञानिकहरुकै मत मतान्तर देखिएको छ । केही वैज्ञानिकहरुले यो नयाँ भेरियन्टले खोपको प्रभावकारिता नरहने भन्दै आम मानिसलाई सतर्क रहन आग्रह गरेका छन् भने केही वैज्ञानिकले अहिलेको खोपले नयाँ भेरियन्टको सङ्क्रमणबाट जोगाउन सक्ने भनिरहेका छन् । अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को बारेमा सर्वत्र चिन्ता र चासो बढ्न थालेको छ ।


यसैबीच विज्ञहरुले कोरोना भाइरस सङ्क्रमणविरुद्ध विकसित भएका खोपको पूर्णमात्रा लगाएका मानिसहरुलाई बुष्टर डोज दिन सुझाएका छन् । बेलायत र अमेरिका लगायतका केही मुलुकहरुले आफ्ना नागरिकहरुलाई बुष्टर डोज दिन सुरु गरिसकेका छन् । कोरोना भाइरसको सङ्क्रमण विरुद्ध विकसित भएका खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले बुष्टर डोज लगाउँदा सङ्क्रमणबाट बच्न उपयुक्त हुने विज्ञको भनाइ छ ।


छिमेकी राष्ट्र भारतमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिए पछि खुला सीमाका कारण नेपालमा पनि यसको सन्त्रास बढेको छ । विज्ञहरुका अनुसार कोराना भाइरस विरुद्धको खोप लगाएको छ महिना नाघेपछि एन्टिबढीको मात्रा विस्तारै घट्दै जाने भएकाले कोराना भाइरस विरुद्ध बुष्टर डोज लगाउनुपर्ने विषयमा छलफल प्रारम्भ भएको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरस विरुद्धको खोप आइरहेको छ अझै ८३ लाख डोज खोपको मात्रा मौज्दात रहेकोले बुष्टर डोज लगाउने विषयमा छलफल सुरु भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए अनुसार ८३ लाख खोप मौज्दात छ । सहप्रवक्ता अधिकारीका अनुसार विभिन्न देशबाट कोभ्याक्स सुविधा र अनुदानमा प्राप्त भएका र खरिदगरी दुई करोड ७३ लाख ५६ हजार ५ सय ३० डोज खोप विभिन्न कम्पनीबाट ल्याइएको छ । त्यसरी आएको खोप मध्ये १ करोड ९० लाख डोज खोप प्रयोगमा आइसकेको बाँकी मौज्दात रहेको सहप्रवक्ता अधिकारीको भनाइ छ । नेपालमा अहिले नै कोरोना भाइरसको सङ्क्रमण विरुद्ध बुष्टर डोज लगाउने या नलगाउने सम्बन्धमा कुनै छलफल नभएको मन्त्रालयले जनाएको छ ।


अझै पूर्णमात्रामा खोप लगाउन बाँकी रहेकोले ‘अहिले हाम्रो प्राथमिकता पूर्णमात्रा खोपमा नै छ’ भन्नुहुन्छ सहप्रवक्ता अधिकारी । बुष्टर डोजको विषयमा छलफल नै भएको छैन भन्दै सहप्रवक्ता अधिकारीले विज्ञको सुझावका आधारमा मात्र बुष्टर डोज खोपको बारेमा मन्त्रालयले धारणा बनाउने बताउनु भएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस विरुद्धको साढे तीन करोड डोज खोप नेपाल आउने तयारीमा छ । आगामी पुष महिनाभित्र भेरोसेल, फाइजर, मोडेर्ना कम्पनीका कोरोना भाइरस विरुद्धका खोपहरु नेपाल आइपुग्ने बताउनुहुन्छ मन्त्रालयका सहप्रवक्ता अधिकारी ।


खोप विज्ञ डा.श्यामराज उप्रेती अधिकांश नागरिकले पहिलो मात्रा खोप नै नपाएको अवस्थामा बुष्टर डोज खोपको कुरा गर्नु न्यायोचित नहुने भन्दै पहिले लक्षित समूहलाई खोप प्रदान गरेर मात्र बुष्टर डोज दिनुपर्ने बताउनुहुन्छ । डा.उपे्रती ‘लक्षित जनसङ्ख्यामध्ये धेरैले पहिलो मात्रा नै लगाएका छैनन् । यस्तो अवस्थामा पूर्ण मात्रा लगाएकालाई बुष्टर डोज दिँदा खोप नै नलगाउनेलाई अन्याय हुन जान्छ । त्यसैले प्राथमिकताको आधारमा पहिलो मात्रा लगाउन नपाएकाहरुलाई पूर्णमात्रामा खोप लगाउनु पर्छ’– भन्नुहुन्छ ।


जनस्वास्थ्यविद् डा. समिर दीक्षित खोपलाई सबै नागरिकसामु पुर्याएर मात्र बुष्टर डोजको बारेमा सोच्न पर्छ भन्नुहुन्छ । लक्षित जनसङ्ख्याको ७५ प्रतिशतले खोप नलगाएसम्म सुरक्षित हुन नसक्ने भन्दै अहिले बुष्टर डोजभन्दा खोप सुनिश्चिततामै ध्यान दिनु जरुरी रहेको डा.दीक्षितको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि लक्षित जनसङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप पुगेपछि मात्रै बुष्टर डोज लगाउन सकिने बताएको छ ।


कतिपय जनस्वास्थ्यविज्ञहरुले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्नसक्ने अस्त्रको रुपमा खोपलाई नलिइ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आम नागरिकले विशेष ध्यान दिनु आवश्यकता रहेको बताउँदै आएका छन् । पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर केही घटेको देखिए पछि आम नागरिकमा माक्सको प्रयोग नगर्ने, सावधानी नपनाउने प्रवृत्ति समेत बढ्दै भएको छ । यसले नेपाल थप उच्च जोखिममा पर्ने सम्भावनालाई नर्कान नसकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।