राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, फाइल तस्वीर ।
काठमाडौं – राष्ट्रिय प्रजातान्त्र पार्टीको एकता महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । नयाँ कार्यकालका लागि प्रतिनिधिसभामा राप्रपाका एक जनामात्र सांसद रहेका युवा नेता राजेन्द्र लिङ्देन पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नेपाली राजनीतिमा एक खालको तरङ्ग पैदा गरिदिएको छ । नव निर्वाचित अध्यक्ष लिङ्देन पार्टी भित्रमात्र नभै बाहिर पनि निस्कलङ्कित, स्वच्छ र बौद्धिक युवा नेताका रुपमा स्थापित छन् ।

पार्टीलाई उनले आफ्नो भिजन अनुसार नेतृत्व दिनका लागि अन्य नव निर्वाचित पदाधिकारीहरुको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहन्छ नै । पार्टी भित्रका तमाम चुनौतीहरुलाई व्यवस्थापन गर्नका नवनिर्वाचित टिम कत्तिको समक्ष रहन्छ भन्ने कुरा आगामी दिनमा देखिने । यति हो लिङ्देनले राप्रपामा पुराना नेताहरुलाई विस्थापित गर्दै नेपाली राजनीतिमा युवा पुस्ताको आवश्यकताको बोध गराउन सफल भएका छन् । निवर्तमान अध्यक्ष कमल थापा र लिङ्देनले चुनावी मैदानमा छुट्टाछुट्टै प्यानल खडागरी निर्वाचनमा होमिएका थिए । निर्वाचनको परिणाम हेर्दा दुवै पक्षलाई नेता कार्यकर्ताहरुले मत दिएर एकताको सन्देश दिन चाहेको देखिन्छ । प्यानल भन्दापनि दुवै पक्षका महत्वपूर्ण पदका उम्मेदवारहरुले विजय हासिल गरेका छन् । यसले अब राप्रपा फुट्नेभन्दा पनि जुट्ने अभियानमा केन्द्रीत हुने राप्रपाका नेता कार्यकर्ताहरुको बुझाइ छ ।


अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुँदा उपाध्यक्षमा चितवनका विक्रम पाण्डे २ हजार ५ सय २१ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी धादिङका बुद्धिमान तामाङले १ हजार ९ सय ४४ मत र नवलपरासीका ध्रुबबहादुर प्रधानले १ हजार ८ सय १४ मत र ल्याएर निर्वाचित भएका छन् । पाण्डे लिङ्देन र थापा दुवै प्यानलका साझा उम्मेदवार थिए भने तामाङ र प्रधान थापा प्यानलको उपाध्यक्षका उम्मेदवार हुन् । त्यसैगरी महिला तर्फको उपाध्यक्षमा थापा प्यानलकै रोशन कार्की विजयी भएकी छिन् । कार्कीले १ हजार ५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्षबाट निर्वाचित भएकी हुन् ।

महामन्त्रीमा विजयी भएका डा. धवल शमशेर राणा नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको प्यानलका हुन् । कुल २ हजार २ सय २१ मत ल्याएर निर्वाचित भएका छन् भने अर्को महामन्त्रीमा कमल थापा प्यानलका भुवन पाठक १७ सय ५ ल्याएर विजयी भएका छन् । यसैगरी महिलातर्फको महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । कुन्ती थापा प्यानलकी हुन् । उनले लिङ्देन प्यानलकी महामन्त्रीकी उम्मेदवार बनेकी अभिनेत्री रेखा थापालाई पराजित गरेकी हुन् । रेखा थापा १६ सय ४० मत प्राप्त गरिन् ।

यसरी हेर्दा राप्रपाको एकताको महाधिवेशनले चुनेका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरु हेर्दा पार्टीको एकतालाई जोगाएर जानु पर्छ भन्ने सन्देश कार्यकर्ताहरुले दिएका छन् । भलै नयाँ कार्यसमितिमा थापा प्यानलको बहुमत सदस्य सङ्ख्या देखिएकोले युवा नेता राजेन्द्र लिङ्देनलाई पार्टीको नेतृत्वमा सफल हुन चुनौती भने पक्कै छ । तर पनि राजेन्द्र लिङ्देन बहुआयामिक व्यक्तित्व भएकाले उनले पार्टीलाई राम्रो नेतृत्व दिन सक्ने राजनीतिक विश्लेषकहरुको ठम्याइ छ ।