काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत् हेटौंडामा जारी बागमती प्रदेशको अधिवेशनमा अझै मतदान सुरु हुन सकेको छैन । काङ्ग्रेसको बागमती प्रदेशको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएको मतदान १२ बजिसक्दा पनि सुरु हुन नसकेको हो । निर्वाचन कार्यतालिका अनुसार मतदान आज बिहान ८ बजेदेखि सुरु हुनु पर्ने थियो । तर, मतपत्र छपाईलगायतका कार्यमा ढिलाइ भएपछि मतदान निर्धारित समयमा सुरु नभएको निर्वाचन समिति बताएको छ ।

निर्वाचन समितिले हिजो भएको उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा पनि ढिलाइ गरेको थियो । हिजो साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका रहेको भएता पनि राति अबेर नामावली सार्वजनिक गरिएको थियो । त्यसयता प्रारम्भिक नामावली प्रकाशन पनि हुन सकेको थिएन । निर्वाचन समितिले अब केही समयपछि मतदान सुरु हुने जनाएको छ । मतदान प्रक्रिया समयमै सुरु हुन नसकेपछि प्रतिनिधिहरु आक्रोशित भएका छन् । मतदान स्थल हेटौंडा–१०, स्थित वनविज्ञान अध्ययन संस्थानको मूलगेटमा अधिवेशनका प्रतिनिधि र उम्मेदवारको पक्षमा आएका कार्यकर्ताहरूको बाक्लो भिड लागेको छ । गेटमा सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँ र जगदिश्वर नरसिंह केसीको प्यानललाई जिताऔं भन्दै चर्को नाराबाजी भइरहेको छ ।

कार्यकर्ताहरूको नाराबाजीसहितको भिडले पूर्व–पश्चिम राजमार्गमा सवारी जाम लागेको छ । आ–आफ्नो प्यानललाई मत माग्दै प्रतिनिधि तथा कार्यकर्ताले सडक अवरुद्ध गर्दै भोट मागिरहेका छन् । ट्राफिक प्रहरीले राजमार्गको जाम खुलाउन प्रयास गरिरहे पनि सम्भव हुन सकेको छैन । मतदान कार्य सुरु नभएकाले गेट बन्द गरिएको छ । बागमती प्रदेशको १३ वटै जिल्लाबाट आएका प्रतिनिधिहरूले निर्वाचन समितिको कार्यप्रति प्रश्न उठाएका छन् । कमजोर व्यवस्थापनका कारण समयमा नै मतदान गराउन नसकेको उनीहरूको आरोप छ । प्रतिनिधिहरूले मतदान कार्ड लिन भित्र प्रवेश गर्न नपाएको गुनासो गरेका छन् । अधिवेशनका लागि २ हजार १ सय ३७ जना प्रतिनिधि हेटौंडा आएका छन् ।

मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । मतदान सुरु हुनुअघि बिहानै अधिवेशनस्थलबाट उम्मेदवारीको ब्यानर हटाइएको थियो । काङ्ग्रेस बागमतीको सभापतिमा त्रीपक्षीय भिडन्त हुँदैछ । संस्थापन पक्षबाट बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट केसी र नेता कृष्ण सिटौला समूहबाट भीमसेन दास प्रधानले प्यानल नै बनाएर उम्मेदवारी दिनुभएको छ ।