काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम भएका कारण आज शनिबार हवाई उडान र अवतरण प्रभावित भएको छ । हिजोदेखि उपत्यकाको मौसममा देखिएको परिवर्तनले भिजिबिलिटी कम भएकाले हुँदा जहाज उडान र अवतरणमा समस्या आएको हो ।

आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको दुवैतर्फका हवाइ उडान तथा अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी गराएका छन् । प्रवक्ता ठाकुरका अनुसार सातवाट जहाजलाई होल्ड गरिएको छ भने फ्लाइ दुबईको जहाज भारतको लखनउतर्फ डाइभर्ट गएको छ ।

प्रवक्ता ठाकुरका अनुसार आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । तर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको प्रवक्ता ठाकुरले जानकारी दिए । हवाई उडान अवरुद्ध भएका कारण यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप रहेको छ ।

बङ्गालको खाडीमा आएको चक्रवातको अप्रत्यक्ष प्रभाव अहिले नेपालमा परेको छ । साथै पश्चिमी वायुको प्रभाव पनि नेपालमा छ । यसको प्रभावले गर्दा नेपालको अधिकांश ठाउँको मौसममा बदली हुनुका साथै केही स्थानमा वर्षा र उच्च हिमाली भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।