काठमाडौं – राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड पूूरा नभएका पाठ्यसामग्री बिक्री वितरणमा पूर्ण रोक लगाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ । केन्द्रमा पाठ्यसामग्री छपाइ गर्ने प्रकाशन गृहहरूले तोकिएको मापदण्ड पालना नगरी पाठ्यसामग्री बजारमा बिक्रीवितरण गर्दै आएको उजुरी परेपछि केन्द्रले अनुसन्धान गरेको थियो । अनुसन्धानबाट पाठ्यविकास केन्द्रले अनगुमन निरीक्षण नगरेको पाइएको बताइएको छ । केन्द्रले उजुरी, फस्र्योट, निर्देशन, तामेलीमा राखेको विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा केन्द्रमा ४ सय ४४ उजुरी परेको थिए । जसमध्ये १ सय ५६ वटा उजुरी फस्र्योट गरिएको तथा ४० वटा उजुरीमा सम्बन्धित निकाय तथा विभागमा निर्देशन दिएको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ । केन्द्रमा परेको १६ वटा उजुरीमा थप छानबिन तथा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ । ९९ वटा उजुरी तामेलीमा राखिएका छन् । केन्द्रमा परेको उजुरीहरूमध्ये सिंहदरबार परिसरभित्र सञ्चालनमा रहेका चमेना गृहको नियमन, जग्गा अपचलन, पाठ्यसामग्रीको गुणस्तरलगायतका रहेका छन् । सिंहदरबार परिसरभित्र रहेको चमेनागृह सञ्चालनका लागि मापदण्ड बनाउने भएको छ ।

सिंहदरबार परिसरभित्र सञ्चालित चमेना गृहहरूले प्रचलित नियम–कानुनको पालना नगरेको उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड बनाएर नियमन गर्ने निर्णय गरेको हो । केन्द्रले प्रहरी उपरीक्षक अर्जुनकुमार खड्काको संयोजकत्वमा मापदण्ड निर्माण समिति गठन गरेको हो । निर्णयबमोजिम समितिमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र सङ्घीय सचिवालय निर्माण व्यवस्थापन कार्यालयका एक÷ एक जना प्रतिनिधि रहने गरी पाँच सदस्य रहने छन् ।

बैठकले चमेनागृह सञ्चालनका लागि अनुमति दिएका निकायलाई भान्साघरमा सीसीटीभी राखेर अनुगमन गर्न निर्देशन दिएको छ ।त्यसैगरी केन्द्रले नेपाल टेलिभिजनको ब्यान्डविथ खरिदमा अनियमितता भएको विषयमासमेत छानबिन गरेको छ । छानबिनमा ब्यान्डविथ खरिद सम्बन्धमा तयार गरिएको बोलपत्र तथा ‘स्पेसिफिकेसन’का प्रावधानले प्रतिस्पर्धालाई सीमित गरेको पाइएको छ । केन्द्रले नेपाल टेलिभिजनलाई बोलपत्र तथा स्पेसिफिकेसनलाई फराकिलो पार्न र बोलपत्रको प्रकृति वस्तु वा सेवा केका लागि रहेको यकिन गरी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट निर्धारित ढाँचामा बोलपत्र प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको छ ।