काठमाडौं – विवेकशील साझा पार्टीले पहिलो पटक काठमाडौंमा आज आमसभा गर्दै छ । सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा गर्न विवेकशील साझाले आज सभा गर्न लागेको हो ।

पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार आज दिउँसो १ बजे ललितपुर जवलाखेल चोकको खुला ठाउँमा सभा हुने भएको छ । त्यसअघि उपत्यकाका विभिन्न ठाउँबाट झाँकीसहित ¥याली निकालिने उहाँले जानकारी दिनुभयो । गत २८ कात्तिकमा विवेकशील साझाले दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । सभामा पार्टीका अध्यक्ष मिश्र, नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कसन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी प्रवक्ता पाठकले बताउनुभयो ।

उहाँका अनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहने छ । पार्टीले अध्यक्ष मिश्रको ’विचारभन्दा माथि देश’ दस्ताबेज पारित गर्ने, स्थानीय तहलाई पुनर्संरचना गर्दै सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रहको एजेन्डालाई अङ्गीकार गरेको छ । पार्टीले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य, दलीय पेशागत सङ्गठनको खारेजीजस्ता राजनीतिक कार्यक्रम पनि अघि सारेको छ । ’शनिवार गरिने एकीकरण घोषणा सभालाई हामीले रूपान्तरणकारी शक्ति निर्माणको अर्को एक कदम मानेका छौँ’, पार्टी प्रवक्ता पाठकले भन्नुभयो, ’एकता सभापछि पार्टीले देशैभर विभिन्न आन्दोलन र सङ्घर्षका कार्यक्रम सञ्चालन गर्ने छ ।’