काठमाडौं – एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउनुपर्ने बताउनुभएको छ । हिजो काठमाडौंमा भएको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन नहुने बताउनुभएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो, “शिक्षक परिवर्तनका सम्वाहक हुन्, समाजवाद भनेको सामाजिक न्याय र रूपान्तरण हो । शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि अरूलाई सिकाउनुपर्छ ।’’ शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पु¥याउन सुझाव दिँदै अध्यक्ष नेपालले भन्नुभयो, “अधिकारको विषय उठेपनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको हो ।”

अर्काे फरक प्रसङ्गमा उहाँले मुलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधानलाई मिच्ने काम गरेको बताउँदै निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि पार्टीमा विद्रोह गर्न बाध्य भएको समेत उल्लेख गर्नुभयो । रासस