फाइल तस्वीर ।

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राजनीतिक गतिरोध अन्त्यका निम्ति ताजा जनादेशको आवश्यकता रहेको भन्दै निर्वाचनमा जान आग्रह गर्नुभएको छ । चितवनको सौराहामा सम्पन्न १०औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः अध्यक्ष बन्नु भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्नेक्रममा उक्त धारणा व्यक्त गर्नु भएको हो ।


एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ‘देशमा देखिएको राजनीतिक गतिरोधको अन्त्य गर्ने औजार निर्वाचन भएकोले अब ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नरहेको’ बताउनु भएको छ ।


‘सर्वोच्च अदालतमा देखिएको गतिरोध पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब हो’ भन्दै अध्यक्ष ओलीले ‘गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको’ आरोप लगाउनु भएको छ । सरकारले देशको समय बर्बाद गरिरहेको भन्दै एमाले अध्यक्ष ओलीले मङसिर २८ गतेका लागि बोलाइएको संसद् बैठक चल्न नसक्ने भनि चेतावनी समेत दिनुभएको छ । एमालेले यस अघिको प्रतिनिधिसभा बैठकलाई बन्धक बनाउँदै आएको थियो । अध्यक्ष ओलीको यो चेतावनीलाई आधार मान्ने हो भने प्रतिनिधिसभाको आगामी अधिवेशन पनि चल्न नदिने पक्का छ । एमालेले संसदको बैठक चल्न नदिएर देशलाई जसरी पनि निर्वाचनमा धकेल्ने प्रयत्न गरिरहेको छ ।

अध्यक्ष ओलीले ‘सभामुखले एमालेले कारवाही गरेर निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’ भन्दै ‘न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो, तर विपरीत दिशामा अघि बढेको छ’ भन्नुभएको छ । अध्यक्ष ओलीले यस्ता गतिविधिले देश चल्न सक्दैन भन्दै अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नका लागि ताजा जनादेशमा जानुको विकल्प नरहेको एमाले अध्यक्ष ओलीले बताउनु भएको छ ।