काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको काम सरकारी निवासबाटै गर्ने भएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको बताउँदै अदालतका दैनिक कामहरु निवासबाटै गर्ने बताएका छन् । बिरामी भै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपराचार गरी आज शुक्रबार डिस्चार्ज भए लगतै प्रधानन्यायाधीश राणाले केही समय निवासबाटै सर्वोच्च अदालतको दैनिक काम अनलाइनबाट गर्ने सूचना अधिकारी ढकालले जानकारी गराएका छन् । ‘अहिले प्रधानन्यायाधीशले तोक्नुहुन्न । गोलाप्रथाबाट तोकिन्छ । यसबाहेक अदालतका अन्य काम उहाँले अनलाइनबाट गर्नुहुनेछ’ सूचना अधिकारीले बताए ।

सर्वोच्चमा आजका लागि गोलाप्रथाबाट ११ इजलास गठन भएको छ । शुक्रबारका लागि दुई एकलसहित नौ वटा संयुक्त इजलास गठन भएको सर्वोच्चले जनाएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलास, मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलास, हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ ।

त्यसैगरी, विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास, आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलास, अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ भने न्यायाधीश प्रकाशमान सिंह राउत र हरिप्रसाद फुँयालको संयुक्त इजलास, सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलास, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलास तोकिएको छ । त्यस्तै, हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाका लागि एकल इजलास तोकिएको छ ।

यता, नेपाल बार एशोसिएसनले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विरोधका कार्यक्रम नरोक्ने बताएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म कानून व्यवसायीहरुले विरोधका कार्यक्रम हरेक दिन गर्ने जानकारी दिनुभयो । कार्यालय समयमा हरेक दिन एक घण्टा धर्ना दिएपछि मात्र इजलासमा बस्ने बारका अध्यक्ष श्रेष्ठको भनाइ छ ।