काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत उम्मेद्वार मनोनयन दर्ता आज हुँदै छ । राप्रपा नेता भुवन पाठकका अनुसार बिहान १० बजेदेखि साढे ११ बजेसम्म मनोनयन दर्ताका लागि समय छुट्याइएको छ । हिजो महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशनमा विवाद भएपछि यसअघि निर्धारित निर्वाचन कार्यतालिका प्रभावित बन्न पुगेको छ । सोही कारण हिजै बिहान १० बजेदेखि सुरू हुनुपर्ने मनोनय दर्ता प्रक्रिया आजका लागि सारिएको हो । निर्वाचन प्रक्रिया अब भोलि मध्याह्नबाट मात्रै सुरु हुनेछ ।

नेता पाठकका अनुसार राप्रपा अध्यक्षमा उम्मेद्वारी दिन एक लाख रुपयाँ ’दर्खास्त दस्तुर’ तिनुपर्ने हुन्छ । उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन १५ हजार रुपयाँ दस्तुर बुझाउनुपर्ने पाठकले बताउनुभयो । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर आज उम्मेदवारको मनोनयन गर्ने उहाँले बताउनुभयो । महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १ सय ९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुने छ । यसरी हेर्दा उम्मेदवारी दर्ताबाट पार्टीले ५० लाख बढी रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको बुझ्न सकिन्छ ।

उम्मेवार बन्न दर्खास्त लिने पार्टी राप्रपा मात्रचाहिँ होइन । एमाले, काङ्ग्रेसलगायतले पनि लिन्छन् । तर, ती पार्टीमा यति ’मँहगो’चाहिँ छैन । हालै महाधिवेशन गरेको एमालेमा अध्यक्षसहितका पदाधिकारीले १० हजार र केन्द्रीय सदस्यको उम्मेदवारी दिन पाँच हजार दर्खास्त दस्तुर तोकेको छ । यस्तै चौथौँ महाधिवेशनको प्रक्रियामा रहेको कांग्रेसको सभापतिसहित पदाधिकारीको उम्मेदवार हुन १५ हजार र केन्द्रीय सदस्यका लागि पाँच हजार तिर्नुपर्ने नियम छ ।

नेता सुन्दर पाण्डेकाअनुसार महाधिवेशनमा देशभरबाट चार हजार ७ सय प्रतिनिधि छनोट भएका छन् । मङ्गलबारदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन आजसम्म चल्ने भनिए पनि प्रतिनिधि विवादका कारण एक दिन लम्बिने भएको छ ।