काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमति प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै देशको उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।

यस्तै राति पनि कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी र हिमाली भू–भागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसैबीच सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेकाले सतर्क हुन मौसमविदले आग्रह गरेका छन् । यस्तै देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेका छन् ।