हेटौंडा – नेपाली काङ्ग्रेसका पूर्व उप–सभापति एवम् बागमती प्रदेश संयोजक प्रकाशमान सिंहले विगतदेखि नै देश र जनताको पक्षमा लड्दै आएको एकमात्र पार्टी काङ्ग्रेस भएकाले मुलुकलाई संकटबाट मुक्त गर्ने जिम्मेवारी पनि काङ्ग्रेसकै भएको बताउनुभयो । उहाँले नेपाली काङ्ग्रेस बागमती प्रदेश अधिवेशन उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्दै दुई तिहाई बहुमतको कम्युनिस्ट सरकारको नेतृत्व गर्दा केपी शर्मा ओलीले जनताको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले काङ्ग्रेसको नेतृत्वमा देशमा शान्ति र संविधान जारी भएकाले आगामी दिनमा पनि काङ्ग्रेस देश र जनताको हितको रक्षामा प्रतिवद्ध रहने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाली काङ्ग्रेस प्रजातन्त्र संस्थागत गर्न संघर्ष गरेको पार्टी हो, जब मुलुकमा सङ्कटको अवस्था आउछ तब काङ्ग्रेसले निकास दिने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छ । त्यसैले देश र जनताको हितको रक्षाका लागि काङ्ग्रेस प्रतिवद्ध छ ।’

नेता सिंहले जंगलमा रहेर बुलेटमा विश्वास गर्ने पार्टीलाई ब्यालेटमा रूपान्तरण गराएर शान्ति प्रकृयालाई ठोस निकास दिन सक्ने काङ्ग्रेसका त्यागी नेताहरुको चाहना अनुसार पार्टी चल्न नसकेको गुनासो पनि गर्नुभयो । उहाँले काङ्ग्रेसको नेतृत्व परिवर्तनको आवश्यकता रहेकोले मतदाताले भोट दिँदा वीपी, गणेशमान र गिरिजाप्रसादको मूल्य मान्यतालाई अवलम्बन गर्न अनुरोध गर्नुभयो ।

‘अरूसँग प्रतिस्पर्धा गर्नुपर्ने पार्टी आन्तरिक किचलोमा फस्यो, विपी, गणेशमान, गिरिजाप्रसादको विचार अनुसार पार्टी चल्न सकेन, अब नेतृत्व फेरिनुपर्छ,’ सिंहले भन्नुभयो । मुलुकमा स्थायी शान्तिलाई संस्थागत गर्न नेपाली काङ्ग्रेसको नेतृत्व पंक्ति अब नयाँ सोच र चिन्तनका साथ अघि बढ्न र निर्वाचनलाई स्वच्छ प्रतिस्पर्धामा केन्द्रित बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।