काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । आज नेपाली काङ्ग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावमा केन्द्रीत हुन निर्देशन दिनुभएको हो ।

‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्ष भित्र संघ र प्रदेशको निर्वाचनमा जादैछौँ,’ देउवाले भन्नुभयो, ’अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रीत हुनुपर्दछ ।’ पार्टीको आन्तरिक चुनावमा हुने हार–जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गर्नुभयो ।

प्रदेश अधिवेशनमा काङ्ग्रेसलाई थप सशक्त र बलियो बनाउँदै जनताको मन जित्ने रणनीति बनाउन देउवाको आग्रह थियो । उहाँले विकास र समृद्धिको नेतृत्व नेपाली काङ्ग्रेसले मात्रै गर्नसक्ने दाबी गर्नुभयो ।