काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । बिहीबार बिहान स्पेनबाट स्वदेश फर्किनुभएको सभामुख सापकोटाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।

सर्वोच्चको गतिरोधबारे सोधिएको प्रश्नमा सभामुख सापकोटाले ‘कसरी पहलकदमी लिने र धारणा कसरी बनाएर अगाडि जाने भन्ने कुरामा म यहाँ आइसकेँ, अब सोच्छु’ भन्नुभयो । यसैगरी, स्पेनमा रहँदा राष्ट्रिय राजनीतिको विषयमा जानकारी राखेको समेत उहाँले बताउनुभयो । अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औँ सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा मङ्सिर ८ गते स्पेनको म्याड्रिड जानुभएको थियो ।