काठमाडौं – सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न सुझाव दिइएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि सर्वोच्च अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवहाक प्रधानन्यायाधीश तोकेर अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिइएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, “प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवहाक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको काम–कारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ ।”

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरूको सहभागीता रहेको थियो ।