काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको बागमती प्रदेशको उद्घाटन हेटौंडामा हुने भएको छ । प्रधानमन्त्री एवं काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत आज काङ्ग्रेस बागमती प्रदेशको अधिवेशनको हेटौंडामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको प्रदेश अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिनुभयो । कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा आज बिहान ११ बजे हुने बताइएको छ ।

प्रदेशको संरचना अनुसार काङ्ग्रेस प्रदेशको निर्वाचन यो पहिलोपटक हुँदैछ । प्रदेश सभापतिमा देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौं जिल्लाका पूर्वसभापति तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रदेश सभापतिमा जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ । बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ ।