काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यपालिकामा समस्या आउँदा कानुन व्यवसायीहरुले लगाएको गुन नबिर्सिएको बताउनुभएको छ । अहिले न्यायापालिका समस्यामा रहेको भन्दै उहाँले राजनीतिक दलहरुले गुनको पैंचो तिर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यपालिकामा हिजो समस्या भयो, हामीले न्याय क्षेत्रमा काम गर्ने बारदेखि पूर्वप्रधानन्यायाधीश, न्यायाधीहहरु, कानुन व्यवसायी सबैसँग झन्डैझन्डै गुहार माग्दै हिँडेको जस्तो स्थिति थियो, हिजो कार्यपालिकामा समस्या देखा पर्दा, हामीलाई त्यहाँबाट ठूलो सहयोग प्राप्त पनि भयो ।’‘त्यसले जनमत निर्माणका साथै अदालतको निर्णयलाई प्रभावित पार्ने हकसम्म सकारात्मक अर्थमा महत्वपूर्ण भूमिका खेलेको छ । त्यसकारण म यहाँहरुलाई के भन्न चाहन्छु, हामीले बिर्सियौं कि भन्ने नठानियोस् । तपाईंहरुले लगाएको त्यो गुनको पैंचो राजनीतिक दल र कार्यपालिकाले तिर्नु पर्छ ।’


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसन र सर्वोच्च बारका पदाधिकारीहरुले बुधबार प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा उनीहरुले न्यायालयमा समस्या देखिएको डेढ महिना हुँदा पनि दलहरुल कानमा तेल हालेर बसेको गुनासो गरेका थिए । नेपाल बार र सर्वोच्चबार प्रतितिधिहरुको ज्ञापनपत्र बुझ्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले न्यायालय विवाद अब देशभित्रको विषय मात्रै नभएको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो सामान्य छैन । यो हाम्रो देशभित्रको मात्रै पनि कुरा छैन, अब त अन्तर्राष्ट्रिय पनि भइसक्यो । अब नेपालले के गर्छ भन्ने कुरा पूरा दुनियाँले हेरिरहेको छ, न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी लान्छन् त नेपालीले भन्ने कुरा सबैले हेरिराखेकै कुरा छ, उहाँले कानुन व्यवसायीका प्रतिनिधिहरुसँग भन्नुभयो, ‘म यूएन मिसनसँग कुरा गर्दैछु त्यहाँ पनि यसको कुरा उठेका छन् ।’उहाँले विवादबारे अब धेरै धैर्य नसकिने बताउँदै अदालतमा चलेको आन्दोलनले विसङ्गति अन्त्य गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

सर्वोच्चमा देखिएको समस्या न्यायपालिसँग मात्र नभई समग्र राज्यप्रणालीसँग सम्बिन्धत रहेको भन्दै उहाँले, ‘यसलाई सम्बोधन गर्न सकियो भने न्यायपालिकामा गुणात्मक सुधारको प्रक्रिया सुरु हुनसक्छ । यो एउटा यस्तो बिन्दु हुनसक्छ, जहाँबाट न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसङ्गति अन्त्य हुने र न्यायपालिकाले जनविश्वास आर्जन गर्नेतर्फ अगाडि बढ्ने बिन्दु हुनसक्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यहाँहरु सबैलाई के भन्न चाहन्छु भने हामीले बिर्सियौँ कि भन्ने नठानियोस् । तपाईहरुले लगाएको त्यो गुनको पैँचो तिर्न राजनीतिक दलले पर्छ । कार्यपालिकाले तपाईहरुले जुन गुन लगाउनु भएको छ, त्यसको ऋण हामीले तिर्नुपर्छ, ‘पहिलो कुरा केही पनि भएन कि के हो? राजनीतिक दलहरु कानमा तेल हालेर बसेका हुन् कि नबुझेका हुन् कि, थाहा नपाएर यसो गरेका छन् कि, के अनौठो भयो ? डेढ महिना हुन लागिसक्यो भन्ने तपाईहरुको भनाइ छ, तपाईहरुको मर्म पनि बुझिने खालको नै छ । हामी यो विषय तपाईहरुले जति बेलादेखि उठाएर आन्दोलित हुनुभयो त्यति बेलादेखि नै गठबन्धन भित्र छलफल भएको छ ।’

उहाँले सभामुख अग्नि सापकोटा बाहिर जानुभएकाले स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने आश्वासन दिनुभयो ।