काठमाडौ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले राजनीतिक दलहरुको साथ खोजेको छ । आफूहरुको पहलबाट मात्र प्रधानन्यायधीश हटाउन नसकिने निष्कर्षमा पुगेको बारले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर सो विषयमा छलफल गर्दै सहयोग मागेको छ ।

बार एशोसियसनका पदाधिकारीहरुले संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरी अदालतमा भएको असहज अवस्था र राजनैतिक दलहरूले लिनुपर्ने पहलका बारेमा ध्यानाकर्षण गराएको छ । बारको कुरा सुनेपछि प्रचण्डले आफुहरु अदालतको स्वच्छता, निष्पक्षता र स्वतन्त्रताबारे सधैं सजग र सचेत रहेको,र गठबन्धनको तर्फबाट यथासिघ्र समस्या समाधान गर्न सम्बन्धित जिम्मेवार पक्षलाई अपिल पनि गरेको जानकारी गराउनुभयो ।

उहाँले आजसम्म न्यायलयको समस्या समाधान नभएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको र अब के गर्ने भन्नेमा गठबन्धन र दलहरूबीच छलफल गरी अघि बढ्ने जानकारी समेत गराउनु भएको छ ।