काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा राष्ट्रिय मेलमिलाप आवश्यक भएको बताउनुभएको छ । उहाँले राजावादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरू एक ठाउँमा उभिन जरुरी रहेको पनि बताउनुभयो । नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाले अपनाएजस्तो मेलमिलाप नीति आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।

आज बुधबार काठमाडौंमा पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अहिले पुरातनवादी सोच र नवीन सोचका मानिसको मेलमिलाप आवश्यक भएको बताउनुभयो । लोकतन्त्रवादीहरू राजावादीहरूसँग र राजावादीहरू लोकतन्त्रवादीहरूसँग डराउन जरुरी नरहेको थापाको भनाइ थियो । “अहिले पनि देशलाई रािष्ट्रय मेलमिलाप आवश्यक छ, लोकतन्त्रवादी राजसंस्थासँग नतर्स, राजसंस्थावादीहरू लोकतन्त्रवादीहरूबाट नडराऊ । अहिलेको परिवर्तन शक्ति र परम्परावादी सोचहरूको बीचमा एकता आवश्यक छ,” उहाँले भन्नुभयो ।

धर्म निरपेक्षताको आडमा सनातवादी धर्मलाई नाश गर्ने खेल आफूहरूलाई अमान्य भएको बताउँदै निरङ्कुश राजसंस्था नभई राष्ट्रिय एकताका लागि राजसंस्था आवश्यक भएको उहाँको भनाइ छ । उहाँले अहिलेको लोकतन्त्रप्रति आपत्ति नभएको भन्दै परम्परागत शक्ति र मूल्य–मान्यता भएको राजसंस्थालाई स्थान दिनुपर्नेमा जोड दिनुभयो । (राप्रपा) का अध्यक्ष थापाले राजादेखि विप्लव माओवादीसम्म अटाउने प्रजातन्त्र आफूहरूले खोजेको बताउनुभयो । “हामी पुरानो २०६३ भन्दा अघिको व्यवस्थामा नेपाल फर्काउन अघि बढेको होइन, तर धर्म निरपेक्षता र राजसंस्थासहितको व्यवस्थाको आवश्यकता छ,” उहाँले भन्नुभयो ।

उहाँले पार्टीको यो अन्तिम एकता महाधिवेशन भएको पनि बताउनुभयो । अब पार्टी फुट्न नदिने सङ्कल्प गर्दै उहाँले महाधिवेशनले वैचारिक कार्यदिशा तय गर्ने पनि बताउनुभयो । अध्यक्ष थापाले यो महाधिवेशनले पार्टीमा नेतृत्व चयन पनि सर्वसम्मतिको आधारमा गर्ने जिकिर गर्नुभयो । उहाँले सहमति हुन नसके पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पार्टीलाई आगामी दिनमा एकताबद्ध ढङ्गले अघि बढाउने प्रतिज्ञा गर्नुपर्नेमा जोड दिनुभयो ।