काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज जमलस्थित दरबार हाइस्कुलको अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा मन्त्री पौडेलले कक्षाकोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले सरकारी विद्यालयहरूको अनुगमनको काम सुरु गरेको बताउनुभयो ।

उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिने बताउनुभयो । मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरूसँग आग्रह समेत गर्नुभएको छ ।

सोहि अवसरमा संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो ।