काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । विभाजित नेताहरुले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) गठन गरिएको घोषणा गरेका छन् । रिपोर्टर्स क्लव नेपालमा आज बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा (क्रान्तिकारी) पार्टी गठन गरिएको जानकारी गराएका हुन् ।

गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) गठन गरिएको नवगठित पार्टीको प्रचार विभागका प्रमुख अमर गोपालीले जानकारी गराउनुभयो । उहाँले नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवी वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटोमा लागेको भन्दै पूर्णत असफल भएको दावी गर्नुभयो ।

नवगठित पार्टीको प्रचार विभागका प्रमुख गोपालीले भन्नुभयो, ‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमतसंग्रह नामको चुनावमार्फत वैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटोमा लागेर पूर्णतः असफल भैसकेको छ ।’ उहाँले वि.स.२०७७ सालमा विप्लवले सेना र सत्ता ३ बुँदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेइमानी र जालसाजीको संज्ञा समेत दिनुभयो ।

केन्द्रीय सदस्य गोपालीले नेपालमा अझै क्रान्ति बाँकी रहेकोले जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै उत्पादनसहितको ‘सशस्त्र जनविद्रोह’ मार्फत पुनः क्रान्तिकारीहरुको एकता र ध्रुवीकरण गर्दै समाजवादी राज्य स्थापना गर्नु पार्टीको कार्ययोजना रहेको बताउनुभयो । उहाँले क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशीलतामा नयाँ पार्टी पुनर्गठन गरी क्रान्तिलाई फेरि नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार लिएको जिकिर गर्नुभयो । नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम प्रवक्ता सम्भवलाई चयन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यस्तै पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको बताइएको छ ।