काठमाडौं – सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोक्ने काम सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोराना सङ्क्रमित भई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत रहेकाले उहाँको अनुपस्थितिमै गोलाप्रथा पेसी प्रणाली सुरु गरिएको हो । यही मंसिर ९ गते बसेको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले संशोधित नियमावली मंसिर १५ देखि लागु हुने निर्णय गरेको थियो । सोही निर्णयानुरूप आजदेखि गोलाप्रथा पेसी प्रणालीको अभ्यास थालिएको हो ।

सर्वोच्च अदालत नियमावलीअनुसार पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीशको अध्यक्षमा दुई वरिष्ठतम न्यायाधीश रहन्छन् । तर, नियमावलीले प्रधानन्यायाधीश वा अन्य दुई वरिष्ठतम न्यायाधीशहरूको अनुपस्थितिमा त्योभन्दा पछिल्लो वरीयताको न्यायाधीशले अध्यक्षता र सदस्यता ग्रहण गर्न सक्ने व्यवस्था गरेको छ ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले पेसी व्यवस्थापन निर्देशन समितिको अध्यक्षता गर्नुभएको छ भने त्यसपछिका वरिष्ठतम न्यायाधीशहरू मीरा खड्का र हरिकृष्ण कार्कीले सदस्य भएर काम गर्नुभउको छ । समितिले व्यवस्थापन गरेको गोलाप्रथा प्रणालीमा आज पहिलोपटक पेसी तोकिएको हो । आज दुई एकल र नौ संयुक्त गरी ११ इजलास तोकिएका छन् ।