काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्तीमा आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘कोभिड– १९ को महामारी नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौं ।’ नेपालमा दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोभिडले अर्थतन्त्रमा प्रभाव परेको छ । विगत दुई वर्षमा आर्थिक वृद्धि न्युन भयो । अँध्यारोबाट उज्यालोतर्फ अघि बढेका छौँ ।” ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’

उहाँले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको सुरूवात भएको बताउनुभएको छ । मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै उहाँले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको समेत बताउनुभयो ।

नेपाललाई अल्पविकसित राष्ट्रबाट विकाससील मुलुकमा स्तरोन्नति गर्ने निर्णय हालै संयुक्त राष्ट्रसंघको महासभाले गरेको भन्दै प्रधानमन्त्री देउवाले लामो समयदेखि गरिब मुलुक बनेर बस्नुपर्दाको लघुताभाषबाट मुक्ति पाउन स्तरोन्नतिको निर्णय महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।