काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष पनि सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले विमानस्थलको श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि नै श्रमिकहरू बस्न मिल्ने गरी बनाइएको विश्राम कक्षको आज बुधबार उद्घाटन गर्नुभएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार, सो विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातो÷चिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । हाल ३० जना अट्ने विश्राम कक्ष रहेको र विस्तारै त्यसलाई फराकिलो बनाउँदै लैजाने योजना रहेको छ । त्यसैगरी विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट)देखि आन्तरिक टर्मिनल भवनसम्म यात्रुको आउ–जाउ गर्नका लागि निःशुल्क बस सेवाको बुधबार औपचारिक शुभारम्भ गरिएको छ । मन्त्री आलेले आज बिहान निःशुल्क बस सेवाको पनि शुभारम्भ गर्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक क्षेत्रीले गोल्डेन गेटदेखि आन्तरिक टर्मिनलसम्म आउ–जाउ गर्न तीन वटा बसको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार, ‘ती बसमा यात्रुहरु निःशुल्क यात्रा गर्न पाउँछन् । यो सेवाबाट महँगो पैसा खर्च गरेर ट्याक्सी चढ्नुपर्ने बाध्यतामा केही राहत मिल्ने विश्वास छ ।’ भविष्यमा आन्तरिक टर्मिनल भवनदेखि अन्तर्राष्ट्रिय टर्मिनल भवनसम्म आउ–जाउ गर्न निःशुल्क यातायात सेवा सन्चालन गर्ने योजना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।