चितवन – नेपाली काङ्ग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन्। उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै जिल्ला अधिवेशन गराउन असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरे । पोखरेलले काँग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए ।

पटक–पटक सर्दै आएको काँग्रेस जिल्ला अधिवेशन आजदेखि मङ्सिर १९ गतेसम्म हुने तालिका तय भएको थियो । आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो । “केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन सफलताका साथ सम्पन्न गरेको छु”, पोखरेलको राजीनामा पत्रमा उल्लेख छ । रासस