चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

एमालेमा नयाँ नेतृत्व चयनका लागि आज बिहान मतदान भएको थियो । अहिले मतगणना सकिएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यका लागि निर्वाचन भएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भइसकेका छन् ।

सबै मतपरिणाम आएपछि सदस्यको टुङ्गो लाग्ने जनाइएको छ । मतदानमा २ हजार १ सय ५३ जनाको मताधिकार रहेकामा २ हजार ९६ जनाले मात्रै मत खसालेको निर्वाचन आयोगले जनाएको छ । एमालेको यही १० मङ्सिरदेखि चितवनमा जारी १० औँ महाधिवेशन आज सकिँदैछ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको छ । रासस