काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । आज मङ्गलवार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गर्नुभएको हो । उहाँले विगतका दिनमा पार्टी भित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा लाउन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ । हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ । तपाईहरुलाई थाहै छ, सत्य कुरा लुक्दैन । पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए । आगामी दिनमा यो पार्टीलाई एकतावद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ । हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ । अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ । उहाँहरुको भन्दा ठूलो पार्टी बनाऊँ ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अहिले हाम्रो विश्वप्रकाशले अति महत्वपूर्ण कुरा उठाउनु भएको छ ।

उहाँले आफ्नो बेलामा गर्नुभयो भने उहाँलाई धन्यवाद दिनुहोस् तपाईहरुले । उहाँको समयमा उहाँले कति गर्नुहुन्छ । अरुलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु । अहिले नहत्तारिनुस्, अहिले हत्तारिएर के गर्नुहुन्छ पछि ? समय आइहाल्छ नि । त्यस्तै प्रकाश महतजीले पनि भन्नुभयो, निर्णय नै गर्न सक्दैन निर्णय ढिलोढिलो गर्छ भनेर । निर्णय भन्दैमा जथाभावि गर्नु, जे पायो त्यही त गर्नु भएन नि । निर्णय भनेको सोचविचारले गर्नुपर्छ । निर्णय गरेर पछुताउनु भन्दा ढिलो निर्णय गर्नु बेश हुन्छ । सोच विचार गरेर गर्नुपर्छ । त्यसकारण तपाईहरुलाई भोलि निर्णय गर् निर्णय गर् भनेर फसाउलान् नि । निर्णय गर्ने इच्छा राख्नु भएका नेता हुनुहुन्छ, को हुन्छ त थाहा छैन, नेता हुने इच्छा चाहीँ छ, भविष्यमा सफल हुनुहुनेछ भन्ने शुभकामना दिन चाहन्छु । त्यसैले अर्ति भनेको बुढापाकाहरुबाट सिक्नुपर्छ क्या, त्यसकारण बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यसकारण हाम्रो अर्ति सुनेर काम गर्नुहोला । हतार नगर्नुस्, गर्नुभयो भने बिग्रिन्छ । बिपीले हतार गर्नुभएन, कृष्णजीले हतार गर्नुभएन पालो आउँछ । तपाईको पालो आइहाल्छ हतार नगर्नुस् ।’

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्रको लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताउनु भयो ।