अछाम – मङ्गलसेनबाट धनगढी गइरहेको बस मङ्गलसेनस्थित कैलाशखोला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना ६ ख ८२९ नम्बरको बस मङ्गलसेनबाट छुटेको केही मिनेटमै दुर्घटना भएको हो ।

दुर्घटनामा मङ्गलसेन नगरपालिका– १४ निवासी ५७ वर्षीय टङ्क भण्डारी र मङ्गलसेन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापाको घटनास्थलमै मृत्यु भएको डीएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा २५ बढी यात्रु घाइते भएका छन् ।

दुर्घटनाका घाइतेमध्ये २१ जनालाई जिल्ला अस्पताल र थपलाई वयलपाटा अस्पतालमा पठाइएको डीएसपी अर्यालले बताउनुभयो । अप्ठेरो ठाउँमा बस फसेकाले केही यात्रु बसमुनी च्यापिएको हुनसक्ने उहाँको भनाइ छ । नेपाली सेना, प्रहरीले उद्धारको काम गरिरहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।