काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आशिंक र करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको छ । आज बसेको त्रिविसभाको बैठकले आन्तरिक प्रतिस्पर्धा गराएर करार शिक्षकलाई स्थायी बनाउने बाटो खुलाएको हो ।

गत बुधबार बसेको यो सभा त्रिविको ‘बजेटसभा’ हो । बजेटसभामा बजेट बाहेकका कुरा नजानुपर्नेमा करार शिक्षकलाई स्थायी बनाउने प्रस्ताव पास गरिएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीका अनुसार करारमा कार्यरत शिक्षकलाई स्थायी बनाउन त्रिवि सेवा आयोगले विशेष व्यवस्था गर्ने प्रस्ताव आजको सभाले पास गरेको हो । जसका लागि सेवा आयोगले विशेष विज्ञापन खुलाएर आन्तरिक प्रतिस्पर्धा गराउने उहाँले बताउनुभयो ।

साथै, आंशिक र करारमा कार्यरत शिक्षकहरूलाई सेवा आयोगमा लड्नका लागि उमेरहद लागू नहुने व्यवस्था आजको त्रिविसभाले गरेको छ । कार्यकारी सचिव अधिकारीका अनुसार, ‘उमेरहदको कुरा त पहिल्यै पास भइसकेको थियो, समर्थनका लागि मात्र सभामा लगिएको हो ।’ उहाँले भन्नुभयो, ‘पहिलाचाहिँ ४० वर्ष उमेर नाघेपछि सेवा आयोगमा लड्न नपाउने कुरा थियो । अब एक वर्षदेखि त्रिविमा पढाएर आएका छन् भने उमेरको हद लाग्दैन । जति उमेर पुगे पनि लड्न खुला भयो ।’