काठमाडौं – सरकारले कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । आज मङ्गलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, ’कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा, व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ ।’

सरकारले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । नेपाल विद्युत प्रधिकरण कृष्णनगर, चन्द्र प्र. शाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय भएको कार्कीको भनाइ छ । त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीलाई १५–१६ मंसिर २०७८ सम्म आयोजना हुने ‘अन कम्पास इन्टरनेशनल समिट एण्ड ह्युमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेण्डेमिक ट्रान्सफर्मेशन एन इमर्जेन्सी प्रिपियर्नेश’ कार्यक्रममा सहभागि हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरुप चीनसँगको सम्झौताका लागि तयार पारिएको प्रोटोकल स्वीकृत गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले २०७८ मंसिर २३ र २४ गते अमेरिकी राष्ट्रपतिले भर्चुअल रूपमा आयोजना गर्ने लोकतन्त्रसम्बन्धी शिखर सम्मेलन ‘समिट फर डेमोक्रेशी’मा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने, चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने, रेडियो सञ्चार लाइसेन्स पाचौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले जानकारी दिनुभयो ।