चितवन – नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । ओलीले भीम रावललाई भारी मतले पछि पार्दै दोस्रो कार्यकालका लागि एमालेको नेतृत्व लिएका हुन् । ओलीले १ हजार ८ सय ८ मत पाए भने अर्का प्रत्यासी भीम रावलले २ सय २३ मत पाएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन । सर्वसम्मतमा नेतृत्व चयन हुन नसकेपछि मतादान भएको थियो ।

को हुन् ओली ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः पार्टीको सर्वोच्च पदमा पुगेका छन् । उनी चितवनमा भएको महाधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा रहेका ओली २००८ साल फागुन ११ गते शनिबारका दिन इवा–२ तेह्रथुममा जन्मिएका हुन् ।

ओली परिवार पछि रणामती–६, झापामा बसाइँ सरेको थियो । पिता मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट जन्मिएका ओलीले डेढ वर्ष उमेरमै आमाको काख गुमाएका थिए । गरिव परिवार र आमाको वात्सल्यसमेत गुम्न पुगेकाले बाल्यकाल यिनको अत्यन्त दुःखपूर्ण रूपले बित्यो ।

ओलीले डेढ दशक विभिन्न जेलमा जेलजीवन बिताएका छन् । ०४६ सालको जनआन्दोलनको सफलतापछि जेलमुक्त बनेका उनी त्यसबेलादेखि लगातार एमालेको केन्द्रीय राजनीतिमा हावी रहँदै आएका छन् ।

लामो समय जेलनेल भोगेका नेता ओलीको राजनीतिक यात्रा झापाबाटै शुरु भएको हो । चर्चित झापा विद्रोहका एक मुख्य पात्र केपी ओली उक्त विद्रोहकालीन एक मात्र जीवित नेता हुन् । लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका नेता भनी ओली परिचित छन् ।

तत्कालीन नेकपा (माले)को संस्थापक मध्येका एक खड्गप्रसाद ओली २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका हुन् । २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए । सोही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेलजीवन बिताए ।

पाचौं महाधिवशेनमा मदन भण्डारीलाई साथ दिएका ओलीले छैठौं महाधिवेनपछि पार्टी विभाजित हुँदा एमालेलाई बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यस्तै आठौं महाधिवेशनमा बुटवलमा झलनाथ खनालसँग ओली एक सय १७ मतले पराजित भएका थिए ।

२०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनमा ओलीले १०४७ मत प्राप्त गर्दै माधव कुमार नेपाललाई अध्यक्षमा पराजित गरेका थिए । त्यसबेला नेपालले १००३ मत पाएका थिए ।

ओलीलाई आफ्नो लाइनमा स्पष्ट, वैचारिक अडान भएका र प्रष्ट नेताका रुपमा विपक्षीले समेत स्वीकार गर्ने गरेका छन् । एमालेभित्र सबै पक्षलाई मिलाउनुपर्ने र देशको राजनीतिलाई पनि सही दिशा दिनुपर्ने जिम्मेवारी उनको काँधमा आएको छ ।