काठमाडौं – नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी हुनुभएको छ । आज बिहान सार्वजनिक मतपरिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गर्नुभएको हो ।

पार्टीमा संस्थापन निकट थापाले ५ सय ५५ मत प्राप्त गर्नुभयो भने कवेले ४ सय ४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । थापा यसअघि पनि जिल्ला सभापति नै हुनुहुन्थ्यो । १३ औं महाधिवेशनमा पनि जिल्ला सभापति पदमा थापा र कवेबीच नै प्रतिस्पर्धा भएको थियो । कवे संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन्् ।

निर्वाचन समिति अनुसार उपसभापतिमा विजेश अवाल र उर्मिला वन निर्वाचित हुनुभएको छ भने सचिवमा सुशील बस्नेत र राजेश खड्का विजयी हुनुभएको छ । सहसचिव पदमा यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने विजयी हुनुभएको हो । पदाधिकारीमा विजयी सबै सभापति थापा समूहकै रहेको समितिले जनाएको । कोषाध्यक्ष पदमा भने कार्यसमितिले मनोनित गर्ने काङ्ग्रेस विधानको व्यवस्था छ ।