कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर नै सङ्क्रमण फेरि तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने सोमबार डब्लुएचओले बताएको हो । डब्लुएचओका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले गरिब देशहरुमा खोपको पहुँच पु¥याउनका लागि पुनः विश्व समुदायसँग आग्रह गरेका छन् । खोपले नै कोरोना भाइरसलाई जित्न सकिने हुँदा सबैमा पहुँच पुग्नुपर्ने उनले बताउँदै आएका छन् ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट प्रारम्भिक तथ्यहरुका आधारमा निकै संक्रामक देखिएको छ। यस्तै यो भेरियन्टका कारण पुनः सङ्क्रमणको जोखिम पनि उच्च रहेको उल्लेख छ । भेरियन्टका बारेमा तत्काल जानकारी सार्वजनिक गरेको भन्दै दक्षिण अफ्रिकाको प्रशंसासमेत भएको छ । तर धेरै देशले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् र दक्षिण अफ्रिकाले यो अन्यायपूर्ण रहेको बताएको छ ।

डब्लुएचओले सावधानीका सबै उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको अवस्थामा ओमिक्रोन भेरियन्टले महामारीलाई गम्भीर चिन्ताको अवस्थातर्फ लैजाने चेतावनी दिएको छ ।