बलेवा – बागलुङको बलेवामा ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान भने खुलिसकेको छैन । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नम्बरको ट्याक्टर कालीगण्डकी कोरिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो ।

मृतक दुवै जना पुरुष भएको स्थानीय भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ ।

घटनास्थलमा प्रहरी पुगेको छ । ट्याक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्र्याक्टर भिरबाट झन्डै २ सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । रासस