चितवन – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहामा मतदानको तयारी थालिएको छ । सर्वसम्मत हुन नसकेपछि अध्यक्ष सहित केही पदमा निर्वाचन हुने भएको हो । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, ओलीले उपाध्यक्षहरूमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा गरेका थिए । त्यस्तै सचिवमा पनि चुनाव हुने भएको छ । ओलीले यसअघि टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई सचिव बनाएका थिए । तर, ओलीको सूचीमा नअटाएका भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि चुनाव हुने भएको छ ।

पदाधिकारीको १४ पदका लागि तय निर्वाचन विद्युतीय मेसिनबाट गर्ने तयारी गरिएको छ । त्यसका लागि मेसिनहरु तयारी अवस्थामा व्यवस्थापन भइसकेका छन् । एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ रहेको छ । निर्वाचन आयोगले उम्मेदवारहरुलाई निर्वाचन आचार संहिता पालना गर्न अनुरोध गरेको छ ।