काठमाडौं – नेकपा माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको बैठकले दश वर्षे जनयुद्धको दौरानमा आफ्ना दुई छोरा गुमाएका झापाका भीमबहादुर बस्नेतलाई केन्द्रीय सल्लाहकारको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रको पछिल्लो स्थायी समितिको बैठकले बस्नेतलाई सो जिम्मेवारी दिएको हो । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय सल्लाहकारलाई केन्द्रीय सदस्य सरहको मर्यादा दिइएको छ ।

बस्नेतले विगतमा माओवादीको झापा जिल्ला सदस्य, कोचिला राज्य समिति सल्लाहकार, वेपत्ता योद्धा परिवार समाजका संस्थापक सहसंयोजक लगायतको जिम्मेवारीमा रही आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । बस्नेत विगतमा माओवादीको तत्कालीन हेटौंडा महाधिवेशन प्रतिनिधि र विराटनगर राष्ट्रिय सम्मेलन प्रतिनिधिको रुपमा समेत सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०६० देखि बस्नेतका माइला छोरा पुष्पराज बस्नेत र कान्छा छोरा धीरेन्द्र बस्नेत तत्कालीन सेनाको भैरवनाथ गणबाट हालसम्म वेपत्ता बनाइएका छन् । द्वन्द्वकालमा राज्यपक्षबाट वेपत्ता पारिएकाहरूलाई सार्वजनिक गराउन माग गर्दै भएको आन्दोलनमा बस्नेतले लामो समयसम्म नेतृत्व गर्दै आउनुभएको थियो ।