काठमाडौं – नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी हुनुभएको छ । अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८ सय ६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित हुनुभएको हो । बानियाँले १ हजार ९ सय ५७ मत र कार्कीले १ हजार ८९ मत प्राप्त गर्नुभएको छ ।

बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षको समर्थन थियो । यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो । उहाँहरु प्यानलसहित प्रतिस्पर्धामा होमिनुभएको थियो । निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ ।

काङ्ग्रेसको काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी हुनुभएको छ । केसीले १ हजार ९ सय २२ र नकर्मीले १ हजार ८ सय २९ मत प्राप्त गर्नुभएको छ । सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी हुनुभएको छ ।