काठमाडौं – नेपाली काङ्ग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । सोमबार बिहान आएको मतपरिणाम अनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित हुनुभएको हो । अधिकारीका निकटतम प्रतिदद्वन्द्वी भीम ढुङ्गानाले एक हजार ४६ मत ल्याउनुभएको थियो ।

अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुनुहुन्छ भने ढुङ्गानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो । यस्तै उपसभापतिमा गेहेन्द्र मल्ल १ हजार ६८ र दलबहादुर अधिकारी १ हजार ६ मत ल्याएर विजयी हुनुभएको हो ।

सचिवमा रामकृष्ण पाण्डे १ हजार १२ र विकास श्रेष्ठ १ हजार १ सय २१ मत प्राप्त गरी निर्वाचित हुनुभयो । सहसचिवमा नबराज तिमल्सिना १ हजार ९१ मत ल्याएर विजयी हुँदा क्रान्ति डल्लाकोटी र बिजय पाख्रीनले बराबरी मत ल्याउनुभएको छ । उहाँहरु दुवै जनाले ९ सय ९५ मत ल्याउनुभएको छ ।