काठमाडौं – नेकपा एमालेको बन्दसत्र अहिले साँझ ७ बजे सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची तयार पार्न छलफलमा व्यस्त भएपछि बन्दसत्र साँझ ७ बजेमात्रै सुरु हुने भएको हो ।

बिहान १० बजेबाट बन्दसत्र सुरु हुने पूर्वनिर्धारित कार्यतालिका पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची बनाउन नेताहरू व्यस्त भएपछि प्रभावित भएको हो । एमाले नेता गोकुल बाँस्कोटाले बन्दसत्र साँझ ७ बजे सुरु हुने र त्यसमा सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव पेस हुने जानकारी गराउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘सूची टुङ्गिएपछि सात बजे बन्दसत्रमा पेस हुन्छ । बन्दसत्रले पास गर्नासाथ सकिन्छ ।’ ओलीलाई भेटेर बाहिरिने क्रममा बाँस्कोटाले विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले ३०१ सदस्यीय केन्द्रीय कमिटीको सूची तयार पारिरहेको बताउनुभएको हो ।